06 Feb 2023
दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण भएको हताहती तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ । यस दुखद् घडीमा हामी प्रभावित क्षेत्रमा बसोबास गर्ने सबै प्रति चिन्ता र चासो व्यक्त गर्दछौँ । यस घटनामा दिवंगत भएका सबैलाई श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको यथाशक्य छिटो उद्धार र उपचार होस् भन्ने कामना समेत गर्दछौँ । साथै, हामी टर्की र सीमावर्ती सिरियाले व्यहोर्नु परेको दुखमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
हामीलाई प्राप्त विवरण अनुसार, टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजार देखि २५ सय नेपालीको बसोबास रहेको छ । भूकम्पको केन्द्रविन्दु दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा भने थोरै संख्यामा नेपाली रहेको जानकारी हामीले पाएका छौँ । त्यहाँस्थित नेपालीहरु अहिले हाम्रो राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी)टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन् । भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ । गाजीयान्टेपबाट हामीसँग सम्पर्कमा जोडिनुभएका नेपालीले आफुहरु सुरक्षित रहेको बताउनुभएको छ । थप विवरणका लागि हामी निरन्तर सम्पर्कमै छौँ र सूचना सम्प्रेषण गर्ने व्यहोरा अवगत गराउँदछौँ ।
यसका साथै, त्यहाँस्थित सम्पूर्ण नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहन हामी अनुरोध गर्दछौँ । यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी )टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछाैँ ।
सम्पर्कका लागि
एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ: 00-905522778593
महासचिव विनोद पौडेल : 00-905372777196
गैरआवासीय नेपाली संघ सचिवालय : 977-014411530