गैरआवासीय नेपाली दिवस एनआरएन डे २०२४ बारे अपिल

18 Sep 2024

आदरणीय,

वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरु, संरक्षकज्यूहरु, सल्लाहकारज्यूहरु, मानार्थ परिषद् सदस्यज्यूहरू, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यज्यूहरु, राष्ट्रिय परिषद् समन्वय परिषद्का पदाधिकारी तथा सदस्यज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ताज्यूहरु एवं सम्पूर्ण पञ्जीकृत सदस्यज्यूहरू र शुभ चिन्तकज्यूहरू,

नेपाल सरकारले प्रत्येक वर्ष अक्टोबर ११ का दिन गैरआवासीय नेपाली दिवस (‘एनआरएन डे) मनाउने घोषणा गरेपछि यस संघले दिवसको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको कुरा सर्वविदितै छ । अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को ९९ औं बैठकको निर्णयानुसार यो वर्ष पनि अक्टोबर महिनाभरि दिवसको अवसरमा विशेष कार्यक्रमहरू गर्ने तय भइसकेको जानकारी गराउँदै, सोहीअनुसार कार्यक्रमको आयोजना र सहभागिताका लागि अनुरोध गर्दछौँ ।

१) सम्पूर्ण राष्ट्रिय समन्वय परिषद् (NCC) भएका देशहरूमा अक्टोबर महिनाको पहिलोदेखि तेस्रो सातासम्म ‘एनआरएनए डे’ भव्य रूपमा मनाउन निम्न कार्यक्रमहरू गर्न आव्हान गर्दछौँः

(क) “एक एनसीसी, एक परियोजना” अन्तर्गत नेपालमा कम्तिमा पनि एउटा परोपकारी परियोजना घोषणा गर्ने। त्यस्ता परियोजनामा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले केही आर्थिक सहयोग गर्नुका साथै, आर्थिक सहयोग संकलन गर्न अनलाइन पेमेन्टको व्यवस्थापन, प्रचार-प्रसार, तथा दस्तावेजीकरणमा समेत सहयोग गरिनेछ । घोषित परियोजना ‘एनआरएन डे’ को मूल कार्यक्रमको विशेष समयमा एनसीसीहरूले घोषणा गर्ने व्यवस्था गरिएको छ ।

(ख) नेपाली कला, संस्कृति, परम्परा र योगदानको बारेमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी प्रचार-प्रसार तथा प्रकाशन गर्ने ।

(ग) गैरआवासीय नेपालीहरूको समन्वय र एकता प्रवर्द्धन गर्ने प्रकारका विभिन्न कार्यशालाहरु आयोजना गर्ने र सहभागिता समेत जनाउने ।

(घ) कार्यक्रमको मिति र परोपकारी योजना तय गरी यसको जानकारी सचिवालय (NRNA) वा ‘एनआरएन डे’ का कार्यक्रम संयोजक डा. हेम राज शर्मा (www.nrna.nectar.com.np) लाई सेप्टेम्बर महिनाको अन्तिमसम्ममा जानकारी दिने ।

(ङ)    ‘एनआरएन डे’ को अवसरमा २७ र २८ अक्टोबर २०२४ मा काठमाडौँमा हुने विशेष कार्यक्रममा भौतिक रूपमा उपस्थित हुने तथा पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गर्ने ।

२) यस वर्ष ११ अक्टोबरका दिन नवरात्री अन्तर्गत नवमी पर्व परेकोले सो दिन स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा पूजाआजाको कार्यक्रम मात्र गर्ने र बाँकी कार्यक्रम २७ र २८ अक्टोबर २०२४ मा काठमाडौँमा दुई दिने विशेष कार्यक्रमको रूपमा आयोजना गरिने भएकोले उपस्थितिको लागि अनुरोध गदैछौँ ।

३) ‘एनआरएन डे’  को अवसर पारी कुनै जनचेतनामूलक वा परोपकारी कार्य गर्न चाहनुहुन्छ भने सचिवालयमा वा कार्यक्रम संयोजक डा. हेम राज शर्मालाई सम्पर्क गर्नुहुन अनुरोध छ । उक्त कार्यहरू ‘एनआरएन डे’ को कार्यक्रममा समावेश गरिनेछ र सचिवालयलाई आर्थिक भार नपर्ने गरी अन्य लजिस्टिकमा सहयोग गरिनेछ ।

कार्यक्रमको विस्तृत जानकारी क्रमशः दिइनेछ ।

धन्यवाद ।

डा. बद्री केसी                                                      डा. हेम राज शर्मा                       गौरीराज जोशी

अध्यक्ष                                                       उपाध्यक्ष तथा संयोजक                    महासचिव

                              गैरआवासीय नेपाली दिवस-२०२४      

     

गैरआवासीय नेपाली संघ