10 Jun 2025
प्रेस विज्ञप्ति
मिति २०८२ साल जेठ २५ गते (तदनुसार ८ जुन २०२५) ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रम अन्तर्गत सञ्चालक पत्रकार श्री प्रकाश गिरिसँगको अन्तर्वार्ताका क्रममा बेलायत निवासी श्री प्रेम बहादुर गाहा मगरद्वारा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) यूकेको अध्यक्ष भएको दाबी गर्दै सोही हैसियतमा व्यक्त गरिएका अभिव्यक्तिहरूप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।
यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ कि श्री गाहा मगरले संघको विधान तथा नीति–नियम विपरीत कार्य सञ्चालन गरेकाले मिति २०७९ भदौ २८ गते (१३ सेप्टेम्बर २०२२) उहाँलाई औपचारिक रूपमा अध्यक्ष पदबाट पदमुक्त गरिएको थियो। सो निर्णयपछि उहाँ राष्ट्रिय समन्वय परिषद् यूकेको कुनै पनि आधिकारिक पदमा रहनुभएको छैन।
संघको लोकतान्त्रिक प्रक्रियाअनुसार सन् २०२३–२०२५ कार्यकालका लागि निर्वाचन मिति २०८० श्रावण ६ गते (२२ जुलाई २०२३) सम्पन्न भएको थियो। सो निर्वाचनबाट श्री हित काजी गुरुङ्ग अध्यक्ष पदमा निर्वाचित भई हाल विधिसम्मत रूपमा कार्यरत रहनुभएको छ।
यस सन्दर्भमा, अध्यक्ष पदमा नरहेका व्यक्तिबाट सोही पदको नाममा सार्वजनिक अभिव्यक्ति दिनु संघको आन्तरिक प्रक्रिया, संस्थागत मर्यादा र विश्वसनीयतामाथि गम्भीर आघात पुर्याउने कार्य हो। यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरूले संस्थाको छवि धूमिल बनाउनुका साथै भ्रम मात्रै सिर्जना गर्छ ।
अतः संघको नाम र पदको दुरुपयोग गर्दै सार्वजनिक रूपमा व्यक्त गरिएका दाबीहरू निज श्री गाहा मगरको कुन्ठा प्रेरित व्यक्तिगत धारणा मात्र भएको स्पष्ट गरिन्छ। यस्ता अनधिकृत अभिव्यक्तिहरूले यस संघको औपचारिक प्रतिनिधित्व नगर्ने समेत जानकारी गराइन्छ।
अन्त्यमा सम्बन्धित सबै पक्षहरूलाई यस विषयमा स्पष्ट जानकारी गराउँदै, गैरआवासीय नेपाली संघको नाम र पदको दुरुपयोग हुने तथा भ्रामक धारणा सिर्जना गर्ने यस्ता कार्यहरू पुनः नदोहरिइन् भन्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरिन्छ
साथै, भविष्यमा यस्ता अनधिकृत, भ्रामक र संस्थाको मर्यादाविपरीत हुने गतिविधिहरू नगर्न श्री गाहा मगरलाई पनि गम्भीरतापूर्वक सचेत गराइन्छ।
फणिन्द्र पन्त
प्रवक्ता तथा संयोजक सुचना,संचार तथा प्रकाशन समिति
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ
मिति: २०२५ जुन १०