महिला श्रमिकको सुरक्षा र अधिकारको माग

NRNA • 09 Mar 2025
news-img

मार्च ८, अर्थात ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा शुक्रबार साँझ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) महिला विभागले विशेष कार्यक्रमको आयोजना गर्दै दिदिबहिनीका कुरा सुन्ने र साझा समस्याबारे चर्चा परिचर्चा ग¥यो । कार्यक्रममा श्रमिक महिलाका हक, अधिकार, सुरक्षा तथा महिला सहभागिताका विषयमा विस्तृत छलफल भयो ।

कार्यक्रममा एनआरएन आईसीसी महिला उपाध्यक्ष रोजिना प्रधानले अध्यक्षता गर्नुभएको थियो भने महिला सचिव राधिका टिका गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपसभामुख इन्दिरा रानामगर, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतको विशेष आतिथ्यता थियो ।

कार्यक्रममा पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले श्रमका लागि विदेशिने महिलाहरूको उच्च माग भएतापनि उनीहरू सुरक्षित नरहेको बताउनुभयो । उहाँले महिलाहरूको सुरक्षाका लागि सबैले मिलेर पहल गर्नुपर्नेमा जोड दिँदै नेपाली महिला श्रमिकहरू अझै पनि धेरै जोखिममा रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमका लागि विदेशिएका नेपाली नागरिकका विषयमा पत्रकारिता गर्ने अधिकांश पुरुषहरू मात्र देखिएको उल्लेख गर्दै महिलाहरू पनि सक्रिय भएर आफ्ना अधिकार, सरोकार र सम्बन्धित देशका कानुनी व्यवस्थाबारे लेख्नुपर्नेमा जोड दिनुभयो । आफू पत्रकार महासंघको नेतृत्वमा रहेपनि महिलाहरुको हक अधिकारका विषयमा संचारमाध्यममा बहस पैरवी गर्न वा अन्य कार्यक्रमहरु गरेर सहयोग गर्न सधैं तत्पर रहेको शर्माले बताउनुभयो ।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बैदेशिक सहयोगमा आउने सहयोग बन्द हुँदा नेपालमा स–साना विद्यार्थीका लागि विद्यालयमा न्यूनतम पोषणयुक्त खाना उपलब्ध गराउन नसक्ने अवस्था आएको बताउँदै महिला अधिकार, कर्तव्य र जिम्मेवारीप्रति समाज पछि परिरहेको धारणा राख्नुभयो ।

आइसीसी महिला संयोजक अनुजा प्रधानले महिलाहरुको योगदानको कदर नभइरहेको उल्लेख गर्नुभयो । विश्वभरि रहेका महिलाहरुको कुरा गरिरहँदा नेपालका दूरदरजमा रहेका महिलाहरुको योगदानको आफ्नै महत्व रहेको र त्यसलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । काठमाण्डौमा बस्ने र हुम्ला जुम्लामा बस्ने कहिलाको अवस्था समान हुने वातावरण जहिलेसम्म बन्दैन महिला हक अधिकारको कुरा कागजमै सिमित रहने उहाँले बताउनुभयो ।

एनआरएनकी युरोप महिला संयोजक प्रशुना कँडेलले नेपाल मात्र नभई विकसित देशहरूमा समेत महिलामाथि विभेद कायमै रहेको बताउनुभयो । उहाँले उच्च शिक्षित परिवारहरूमा समेत छोरी मात्र जन्मिएको भन्दै भेदभाव गरिने गरेको तथ्य उल्लेख गर्नुभयो । कँडेलले पहिले नेपालका दुरदराजमा मात्र हुने समस्या भनिएको महिलाप्रतिको विभेद गाउँ वा अशिक्षित परिवारमा मात्रै नभएर विकसित मुलुकमा बस्ने शिक्षित परिवारमा समेत हुने गरेको उल्लेख गर्नुभयो ।

एनआरएन क्यानडाकी महासचिव चन्दा अधिकारीले क्यानडामा नेपाली विद्यार्थीमाथि बलात्कार, यौन दुव्र्यवहार तथा अन्य किसिमका हिंसाका घटनाहरू बढ्दै गइरहेको तथ्य प्रस्तुत गर्नुभयो । गएको डिसेम्बर महिनामा नेपाली छात्रा त्यहा सामूहिक बलात्कारको सिकार भएको घटनाको उदाहरण दिँदै उनले नेपाली चेलीहरू असुरक्षित रहेको तथ्य जानकारी गराउनुभयो ।

साथै, भर्खर विदेश अध्ययन गर्न आएका चेलीबेटीलाई नेपाली दाजुभाइले नै कोठा खोज्ने, जागिर मिलाईदिने, एक ठाउँ बाट अर्को ठाउँ सारीदिने, वा सहारा बनिदिने बहानामा यौन हिंसा गर्ने, तिहारमा टीका लगाउने कुरा गर्दै बलात्कारसम्म गर्ने गरेका घटनाहरू समेत वृद्धि भइरहेको उल्लेख गर्नुभयो ।

घरेलु महिला कामदारको विषयमा अध्ययन र अनुसन्धान गर्न यूएई आएकी एक नेपाली छात्राले यूएईमै रहेको एउटा अन्तर्राष्ट्रिय स्तरको सस्थाका प्रतिनिधिबाट आफूलाई हिंसा भएको सुनाउनुभयो ।

पहिले यूएईमा बसेकी र मधेशी एकता समाज यूएईकी सस्थापक मध्यकी एक मधेशी महिला तथा मधेशी एकता समाज नेपालकी संयोजक डा. बबी सिंह यादव महिलामाथि कति विभेद छ भन्ने विषय हालै स्वास्थ्य मन्त्रालयको गतिविधिबाट छर्लङ्ग भएको उल्लेख गर्नुभयो । डा.संगीता मिश्र स्वास्थ्य सचिवका लागि पहिलो नम्बरमा सिफारिस भएकी भएपनि सरकारले नियोजित रूपमा उनको नियुक्ति रोकेर अन्य पुरुषलाई सचिवमा नियुक्त गरेको विषयले स्पष्ट पारेको यादवको भनाइ थियो ।

महिलाहरूको सशक्तिकरणका लागि सरकार, संघसंस्था तथा अन्तर्राष्ट्रिय निकायहरूले मिलेर ठोस नीतिगत सुधार गर्नु आवश्यक रहेको महिलाहरुले बताउनुभयो । महिला श्रमिकका लागि सुरक्षित रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशमा कार्यरत महिलाहरूका लागि आपतकालीन सहयोग प्रणाली विकसित गर्ने तथा महिला शिक्षालाई प्राथमिकता दिने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा अन्त्यमा आइसीसी उपाध्यक्ष एवं महिला विभाग प्रमुख रोजिना प्रधान राईले विश्वभरका विभिन्न क्षेत्रहरूमा कार्यरत महिलाहरूको आर्थिक, राजनीतिक, र सामाजिक उपलब्धिहरूको सम्मान गर्दै, महिलाहरूको प्रविधिमा पहुँचलाई विस्तार गर्ने, महिला सशक्तिकरणलाई जोड दिने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलापलाई निर्मूल गर्ने, र महिलाहरूलाई शिक्षित र आत्मनिर्भर बनाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ । लैङ्गिक समानता र महिला सशक्तिकरणका लक्ष्यलाई पूरा गर्न, शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, र राजनीति जस्ता राज्यका सबै क्षेत्रहरूमा महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित गर्नु आवश्यक रहेको बताउनुभयो । महिला विरूद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्नु उहाँले आह्वान गर्नुभयो । महिला सशक्तिकरणको महत्वपूर्ण पक्ष भनेको आर्थिक स्वतन्त्रता भएको उहाँको भनाई थियो ।

साथै, कार्यक्रममा श्रमिक महिलाहरूको आवाज बुलन्द बनाउन सामाजिक सञ्जाल तथा मिडियाको भूमिकालाई सशक्त पार्नुपर्नेमा जोड दिइएको थियो । महिलामाथि हुने हिंसा तथा विभेद अन्त्य गर्न कानूनी तथा सामाजिक अभियान सञ्चालन गर्नुपर्ने र महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्ने सहभागीहरुले बताउनुभयो । कार्यक्रमको अन्त्यमा सहभागी सबैले महिला श्रमिकको अधिकार र सुरक्षाका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।