गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरे पनि पूर्ण अधिकारसहितको नागरिकताको लागि लबिइङ जारी राख्ने बताउनु भएको छ ।
डा. केसीले तमु धीँ यूकेद्वारा आइतबार लण्डनस्थित केम्प्टनपार्कमा आयोजित १५ औँ नेपाली मेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले गैरआवासीय नेपालीहरुलाई गत वर्षदेखि जारी गर्न थालिएको नागरिकताको कार्यान्वयनमा समस्या रहेको चर्चा गर्दै आगामी अक्टोबर महिनाभित्र गैरआवासीय नेपाली नागरिकता पूर्ण रुपमा कार्यान्वयनमा आउने दाबी पनि गर्नुभयो ।
डा. केसीले समान पेन्सन र अधिकारको लागि आन्दोलनरत भूपू गोर्खा आन्दोलनप्रति गैरआवासीय नेपाली संघको ऐक्यबद्धता रहेको बताउँदै भूपूगोर्खाहरुको माग सम्बोधन गर्न मन्त्रीस्तरीय वार्ता हुनुपर्नेमा जोड दिनुभयो ।
‘हाम्रो संस्कृति, हाम्रो पचिान, हाम्रो गौरव’ नारा सहित आयोजित मेलामा संघका केन्द्रीय उपाध्यक्षहरु डा. हेमराज शर्मा, रामरशण सिम्खडा, रोजिना प्रधान राई, सचिव टीक गुरुङ, युरोप उपसंयोजक रोबर्ट लिम्बु, प्रवक्ता फणीन्द्र पन्त, संघका केन्द्रीय सल्लाहकारहरु हीराधन राई, सूर्य गुरुङ लगायत गैरआवासीय नेपाली संघका केन्द्रीय तथा एनआरएनए यूकेका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो ।