काठमाडौं, ३१ वैशाख
माननीय श्रममन्त्री श्री शरतसिंह भण्डारीज्यूले नेपालमा पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधारलाई अत्यन्तै महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) द्वारा ‘एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने नारासहित बुधबार काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ अन्तर्गतको पर्यटन तथा नेपाली वस्तुहरूको प्रवर्द्धन सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीज्यूले नेपालको पर्यटनको सम्भावना विश्वब्यापी रहेको र त्यसका लागि कनेक्टिभिटी (सञ्जाल सुदृढता) अनिवार्य रहेको स्पष्ट पार्नुभयो। बजार र उत्पादन एकआपसमा जडान गर्नासाथ बजारीकरण हुने उल्लेख गर्दै उहाँले त्यसका लागि पूर्वाधारको विकास अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले आफू सन् २०१० मा पर्यटन मन्त्री रहँदा नेपालको नाम नकारात्मक सूचीबाट हटाई ८० हजार पर्यटकबाट १० लाख पुर्याउने लक्ष्य राखिएको स्मरण गर्दै सोही वर्षमा ८ लाख पर्यटक भित्र्याउन सफल भएको जानकारी गराउनुभयो। पर्यटन प्रवर्द्धनको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने र सरकारले त्यसमा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो।
मन्त्री भण्डारीज्यूले स्पष्ट रूपमा पर्यटन विकासका लागि दूरदर्शी दृष्टिकोण (भिजन) आवश्यक रहेको, पूर्वाधार, व्यावसायिकता, बजार पहिचान र प्रवर्द्धनमा समेत एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताउँदै सहकार्यका लागि सरकार प्रतिबद्ध रहेको जनाउनुभयो। ‘जबसम्म पूर्वाधार निर्माण हुँदैन, तबसम्म पर्यटन प्रवर्द्धन सम्भव हुँदैन,’ भनी उहाँले जोड दिनुभयो।
सत्रमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री श्री राजेन्द्रसिंह रावलज्यूले विगत पाँच दशकदेखि नेपालको पर्यटन काठमाडौं, पोखरा र चितवनमै सीमित रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले सातै प्रदेशलाई समेट्ने सातवटा पर्यटकीय सर्किट निर्माण गर्न सकिने सुझाव दिनुहुँदै खप्तड, रामायण सर्किट तथा सुदूरपश्चिमको देवातबी सर्किटलाई प्रवर्द्धन गर्न एनआरएनएलाई आह्वान गर्नुभयो। साथै, नीति निर्माण गर्दा सम्पूर्ण मुलुकको पर्यटन क्षेत्रलाई समेट्न आग्रह गर्नुभयो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री प्रदिप अधिकारीज्यूले पर्यटन प्रवर्द्धन पर्याप्त रूपमा हुन नसकेको उल्लेख गर्दै नेपाल आउने टिकट महँगो हुनु र यसमा कार्टेलिङ हुनु एक प्रमुख कारण रहेको बताउनुभयो। उहाँले जहाजको संख्या वृद्धि र विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै यसमा गैरआवासीय नेपालीहरूको साझेदारी र पहलको आवश्यकता रहेको बताउनुभयो। युरोपतर्फ सञ्चालन हुने उडानहरूको न्यूनता उल्लेख गर्दै, युरोपमै शिक्षित नेपाली जनशक्तिले दबाब सिर्जना गर्न नसकेको प्रतीत भएको विचार राख्नुभयो। भैसी दौडाइएको दृश्य भाइरल बनाएर अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिगारिएकोप्रति उहाँले खेद प्रकट गर्नुभयो।
नेपाल पर्यटन बोर्डका श्री सुनिल शर्माज्यूले पर्यटन प्रवर्द्धन एक प्राविधिक र उच्च कूटनीतिक सीप आवश्यक पर्ने विषय भएको बताउँदै एनआरएनएलाई छोटो अवधिको पर्यटन कोर्स निर्माणमा सहकार्य गर्न आग्रह गर्नुभयो। ‘एनआरएनए अनौपचारिक राजदूत हो, त्यसैले इतिहास, संस्कृति र पर्यटनको ज्ञान दिनको निमित्त तीन दिनको कोर्स निर्माण गरौं,’ भन्ने उहाँको प्रस्ताव थियो।
होटल एसोसिएसन अफ नेपालका प्रमुख कार्यकारी अधिकृत श्री टेकेन्द्र महतज्यूले यदि एनआरएनए आफ्ना जन्मथलोमा पर्यटकीय प्रवर्द्धनका गतिविधिहरू विस्तार गर्न सक्यो भने विकेन्द्रिकरणको माध्यमबाट पर्यटनमा विविधता ल्याउन सकिने उल्लेख गर्नुभयो। उहाँले पर्यटन ऐनमा एनआरएनएलाई समेट्नुपर्ने, संयन्त्र निर्माण गर्नुपर्ने र साझेदारीमा आधारित सहकार्य गर्नुपर्ने प्रस्ताव राख्नुभयो। साथै, कनेक्टिभिटीका पक्षमा गैरआवासीय नेपालीको ज्ञान र सीप प्रयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो।
पोर्चुगलका लागि वाणिज्य दूत श्री राजेन्द्र खेतानज्यूले सरकार तथा निजी क्षेत्रले गुणस्तर कायम गर्दै उत्पादनको निर्यात बढाउन सक्ने सम्भावना रहेको बताउनुभयो। नेपालका लघुवित्त तथा आमा समूहहरूले उत्पादन गर्ने सामग्री विदेश पठाउन सकिने र यसका लागि पोखरा तथा भैरहवा विमानस्थलबाट कार्गो फ्लाइट सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो। उहाँले विभिन्न क्षेत्रका ट्रेड विज्ञहरूलाई एकत्रित गरी संयुक्त प्रयासमा जान सकिने प्रस्ताव गर्नुभयो।
पूर्वराजदूत श्री मोहनकृष्ण श्रेष्ठज्यूले नेपालजस्तो छ प्रकारको जलवायु भएको देश विरलै हुने भए पनि पर्यटन र व्यापारमा उछाल नआएकोप्रति खेद व्यक्त गर्नुभयो। बजेटको अभावले प्रवर्द्धनमा कठिनाइ भएको तर इच्छाशक्ति भए सम्भावना अझै धेरै रहेको बताउनुभयो। उहाँले जलवायु अनुकूल महँगा वस्तु उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने सम्भावना देखाउनुका साथै एनआरएनएले अब कूटनीतिक वृत्तलाई पनि आफ्ना अभियानमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो।
संघकी सचिव श्रीमती टीका गुरुङज्यूले व्यापार विस्तारसँगै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने जिम्मेवारी एनआरएनहरूको रहेको बताउँदै कार्यप्रस्तुति गर्नुभएको थियो। उपाध्यक्ष श्री विनोद श्रेष्ठज्यूले सत्रमा उठाइएका महत्वपूर्ण विषयहरू व्यवहारमा लागू हुने अपेक्षा व्यक्त गर्नुभयो।
सत्रको संयोजन संघका उपमहासचिव तथा पर्यटन प्रवर्द्धन विभाग प्रमुख श्री सोम सापकोटाज्यूले गर्नुभएको थियो।