डा. बद्री केसी स्कटल्याण्डमा, एनआरएनए स्कटल्याण्डले बुझायो दुई बुँदे ज्ञापनपत्र

NRNA • 30 Aug 2024
news-img

अध्यक्ष डा. बद्री केसीले विहीवार स्कटल्याण्डको फाइभमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै विदेशमा बसोबास गर्ने नेपालीहरूले नेपाली भेषभूषा र संस्कृतिको प्रवर्द्धनका लागि जोड दिनुपर्ने कुरा बताउनुभएको छ।

कार्यक्रममा डा. केसीले गैरआवासीय नेपाली संघले समृद्ध नेपालको परिकल्पना गर्दै देशका लागि केही योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको चर्चा गरे। उनले नेपालमा आउने प्राकृतिक प्रकोपहरूमा विदेशमा रहेका नेपालीहरूले देशले देख्ने र बुझ्ने गरी सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

गैरआवासीय नेपाली संघ स्कटल्याण्डले आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले गैरआवासीय नेपालीहरूको नागरिकता र सम्पत्ति अधिकारबारे जिज्ञासा राखेका थिए।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. केसीले नेपालको संविधानले राजनीतिक बाहेकको गैरआवासीय नेपाली नागरिकताको स्पष्ट व्यवस्था नगरेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ, एनआरएनए यूकेका उपाध्यक्ष मनिष खत्री, एनआरएनए स्कटल्याण्डका पूर्वअध्यक्षहरू मोहन कार्की, छविलाल अर्याल र कासीराम अधिकारीले आआफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन एनआरएनए स्कटल्याण्डका सचिव रामप्रसाद कंडेलले गर्नुभएको थियो ।

यसैबीच, गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा. बद्री केसीलाई दुई बुँदे ज्ञापनपत्र बुझाएको छ। एनआरएनए स्कटल्याण्ड राज्यपरिषदका अध्यक्ष दिवाकर पाण्डेद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघको विधान संशोधन, निर्वाचन प्रणाली, संस्था दर्ता तथा सदस्यताको शुद्धीकरण र संस्थागत संरचनामा परिवर्तन, नेपालमा लगानी लगायतका विषयमा सुझाव तथा मागहरू प्रस्तुत गरिएकोछ।