गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा समस्या

NRNA • 27 Aug 2024
news-img

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा समस्या निम्तिएको बताउनुभएको छ ।

डा. केसीले गैरआवासीय नेपाली संघ यूकेद्वारा सोमवार अल्डरशटमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपालीहरुको सम्पत्ति सुरक्षामा जोड दिनुभयो ।

डा. केसीले भन्नुभयो, ‘आफु जन्मेको गाउँ, त्यो खरले छाएको घरमा ताल्चा लगाएर आफ्नो जन्मस्थल छोडेर विदेश बस्न आउने रहर छैन्। रहर नहुँदा नहुँदै पनि विदेशी नागरिकता लिए पछि नेपालको कानून अनुसार हाम्रो सम्पत्ति गैरकानूनी हुने अवस्था आउँदा हाम्रा पहाड, धरान, धनकुटा रित्तिए। हामी आफ्नो जन्मस्थलमा फर्किन चाहन्छौं, त्यसको लागि हाम्रो सम्पत्ति कानून अनुसार सुरक्षित हनु पर्छ।’ डा.केसीले गत वर्षदेखि कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीय नेपालीहरुको सम्पत्तिको सुरक्षा गरेको दावी गर्नुभयो ।

उहाँले बेलायतमा रहेका भूपूगोर्खाहरुको हक र हितको लागि गैरआवासीय नेपाली संघले आवाज उठाउदै आएको बताउनुभयो । उहाँले भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारको आन्दोलनको मागलाई बेलायत र नेपालका प्रधानमन्त्रीबीच प्रत्यक्ष वार्तामार्फत सम्बोधन गर्न माग गर्नुभयो ।

फरक प्रसंगमा उहाँले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न सके मात्र गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धी विवादको अन्त्य हुने बताउनुभयो । उहाँले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सर्वोच्च अदालतको पछिल्लो फैसलाले आधिकारिक रुपमा काम गर्ने बाटो खोलिदिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संस्था ठूलो बन्दै गए पछि सबै पक्षलाई संगै लिएर हिँड्न असम्भव जस्तै हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो संस्थामा सबै जाति, सबै विचारधारा, सबै जाति र दोस्रो पुस्ता लगायत सबैलाई एउटै थलोमा लिएर हिड्न असम्भव जस्तै छ। सबैलाई एकै पटक लिएर संस्था अघि बढ्न खोज्दा विवाद हुनु स्वाभाविक हो, तर गैरआवासीय नेपाली संघ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ। यो एउटै छ।’ उहाँले गैरआवासीय नेपाली संघभित्र एकता कायम राख्न संघका सबै पूर्वअध्यक्षहरु एउटै ठाउँमा उभिन आग्रह गर्नुभयो ।

संघका अर्का उपाध्यक्ष रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई ओझेलमा पार्ने प्रयासलाई सर्वोच्च अदालतको हालैको फैसलाले असफल पारिदिएको बताउनुभयो ।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षमा अयोजित कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, गैरआवासीय नेपाली संघका सल्लाहकार सूर्य गुरुङ, संघकी सचिव टिका गुरुङ, एनआरएनए यूरोप उपसंयोजक रोर्वट लिम्बु, प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।