एनआरएन अस्ट्रेलियाको महिला फोरम नारीनिकुञ्जले प्राथमिक स्कुलको पुनर्निर्माण सम्पन्न

NRNA • 03 May 2016
news-img

एनआरएन अस्ट्रेलियाको महिला फोरम ‘नारी निकुञ्ज’ले गोर्खाको विकट गाउँमा भूकम्पले ध्वस्त बनाएको महाभीर प्राथमिक स्कुलको पुनर्निर्माण सम्पन्न गरेको छ । फोरमको २ लाख पचास हजार सहयोग गरे पछि चार कोठे प्राथमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको हो। स्वयंसेवक गोपाल संग्रौला एवं स्थानीयको समेत उल्लेख्य सहयोग र सहभागितामा झन्डै ३ लाख सत्तरी हजारको लागतमा बिद्यालयको पुर्ननिमाण काम सम्पन्न भएको स्थानीय बताउँ छन्।

सड़क यातायातबाट झन्डै चार घण्टाको पैदल दूरीमा रहेको सिमजुंग गाविसको महाभीर गाउँका सबै भौतिक संरचना गत सालको महाभूकम्पमा सम्पूर्ण रूपमा धराशायी भएका थिए । करिब ३५ घरको बसोबास रहेको उक्त गाउँमा रहेको एकमात्र प्राथमिक विद्यालय पनि त्यसबाट अछूतो रहेन । सिंगो गाउँ टेन्टमा खुम्चियो भने कलिला बालबालिकाको शिक्षामा बिर्को लाग्यो । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली चेलीहरूसम्म गाउँको ब्यथा पुग्यो र उनीहरू सहयोगका निम्ति दत्तचित्त भएर कस्सिए । एनआरएन महिला फोरमले हरेक वर्ष तीज मनाएर रकम जम्मा गर्ने र त्यसले नेपालमा पाठेघर खस्ने समस्या भएका महिलाका निम्ति सहयोग गर्दै आएको थियो । यसपालि यस्तो सहयोग विद्यालयका लागिसमेत गर्ने निर्णय भएको र पुनर्निर्माणको कथा सुरु भएको संस्थाकी सचिब प्रतिज्ञा अधिकारीले बताइन् । संस्थाले नियमित रूपमा गर्दै आएको पाठेघर खस्ने महिलाको उपचार सहयोगलाई यस वर्षसमेत निरन्तरता दिइएको उनले जानकारी दिइन् । खोटाङ्ग जिल्लाका २५ जना महिलाले यस वर्ष यस्तो उपचार पाईसकेका छन् ।