अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट

NRNA • 10 Apr 2023
news-img
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ । कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए ।
एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा लगायतका विषय सम्बोधनका लागि आग्रह गरेका थिए ।
सो अवसरमा अर्थमन्त्री महतले आगामी बजेटमार्फत एनआरएनएका धेरै मागहरु सम्बोधन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहनेले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन, आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्ने प्रयास गर्छु ।’ लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिनुभयो ।
भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत पदाधिकारीको सहभागिता थियो ।