गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले बेलायतमा रहेका नेपालीहरूको समस्या तथा अवसरका बारेमा बेलायती सांसदसँग छलफल गर्नुभएको छ।
डा. केसीले बुधबार बेलायती सांसद क्यामरन थोमस र काउन्सिलर ग्राहम बकिङसँग ग्लोस्टशायरमा नेपाली डायस्पोराको विषयमा छलफल गर्नुभएको हो । उहाँले बेलायतमा नेपाली समुदायको समस्या, गोर्खाहरूले उठाउँदै आएको समान पेन्सन र अधिकारको आन्दोलन लगायत नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विषयमा सहयोगका लागि आग्रह गर्नुभयो ।
सांसद क्यामरन थोमसले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालीहरूले बेलायती सेनामा भर्ना भएर गरेको योगदानको प्रशंसा गर्नुभयो । भेटमा सांसद थोमसले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
गत शनिबार बेलायत उत्रिएका संघका अध्यक्ष डा. केसीले बिहीवार स्कटल्याण्डस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। भेटका क्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ र सल्लाहकार हिराधन राई समेत सहभागी थिए ।