अध्यक्ष घलेद्वारा प्रधानसेनापतिसंग भेटवार्ता

NRNA • 22 Jun 2015
news-img

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष श्री शेष घलेले प्रधान सेनापति श्री गौरव शम्शेर ज.वा.रा. संग भेटवार्ता गर्नुभएको छ ।

भेटमा अध्यक्ष घलेले भूकम्पको महाविपतपछि गैरआवासीय नेपाली संघले संचालन गरेको आपतकालिन राहत वितरणबारे जानकारी गराउँदै त्यस कार्यमा नेपाली सेनाले पुराएको सहयोगको लागि धन्यवाद दिनु भयो । उहाँले यस विपत्तिमा नेपाली सेनाले देखाएको धैर्य, साहस र कार्यदक्षताको जति तारिफ गरेपनि नपुग्ने वताउनु भयो । सो अवसरमा अध्यक्ष घलेले नेपाल सरकारसंगको सहकार्यमा संघले १४ जिल्लाका केही गा.बि.स. हरुमा अत्याबश्यक सामाग्रीहरु वितरण गरेको र २६ स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिंदै दोस्रो चरणको पुर्नवास कार्यक्रम अन्र्तगत करिव ३५ करोड रुपैंयाँको लागतमा एक हजार घर निर्माण गर्ने तयारी भइरहेको जानकारी गराउनु भयो । अध्यक्ष घलेले मातृभूमिलाई परेको दु:खमा सदैव गैरआवासीय नेपालीहरु सहयोगी वन्ने बताउनुभयो ।

प्रधान सेनापति ज.वा.रा.ले गैरआवासीय नेपालीहरुको आफ्नो मातृभूमी तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु प्रतिको कर्तव्यवोध र निस्वार्थ उदार हृदयबाट आफूहरुलेनै जोखिम मोलेर पीडितहरुका घाऊमा मलमपट्टी लगाउन पीडितहरुका घरदैलो सम्म पुगेको देख्दा आफू निकै भावविहोर भएको र यस कार्यले सारा नेपालीहरुको हदृयमा गैरआवासीय नेपालीहरुले उच्च स्थान पाएको औंलाउनु भयो । उहाँले गैरआवासी नेपालीहरुको यस अठोटले आफू निकै प्रभावित भएको र नेपाली सेनालाई पनि यस कार्यमा सक्दो सहयोग गर्न निर्देशन दिएको वताउँदै सेना तथा गैरआवासीय नेपालीहरुको स्रोत साधनको समन्वय तथा सहकार्यमा नेपालका विकट क्षेत्रका पीडितहरुलाई ठूलै सहयोग पुगेको औंलाउनु भयो । प्रधान सेनापतिले गैरआवासीय नेपालीहरुले नेपालको परिभेष वुझेका तथा वस्तुस्थितिलाई आत्मासाथ गर्न सकेकाले राहत कार्यमा सफता हासिल गर्न सकेका वताउनु भयो । उहाँले नेपाल अहिले निकै संवेदनशिल घडीबाट गुज्रीरहेको र आगामी दिनहरुमा थप विपत्तिको सामना गर्न तयार अवस्थामा रहनु पर्ने वताउँदै गैरआवासीय नेपाली संघसंग नेपालमा आईपर्न सक्ने विपत्तिहरुको सामना गर्न एक संयूक्त कार्यदल तथा कार्ययोजना वनाउन सकिने सुझाव समेत अघि सार्नु भयो । अध्यक्ष घलेलाई नेपाल सरकारले बिशेष दूतमा नियुक्त गरेकोमा वधाई दिंदै यस जुनौतिपूर्ण र युगान्तकारी कार्यमा सफलताको लागि शुभकामना समेत दिनु भयो।

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।

मिति: २२ जुन, २०१५ ।